काठमाडौं – स्वास्थ्य सेवा र शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएका कारण अविलम्ब वार्ता गरी उनको जीवन रक्षा गर्न ढिलाइ नगर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।
अनशनको २१ दिन पुग्दा डा. केसीको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको भन्दै सभापति देउवाले अविलम्ब वार्ता गर्न माग गरेका छन् ।
चिकित्सा शिक्षामा सुधार देखि कोरोना विरुद्ध प्रभावकारी कदम समेतका मागहरु सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएको भन्दै जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य भएको विज्ञिप्तमा उल्लेख छ ।
सरकारले डा. केसीसँग अहिलेसम्म संवाद नगर्नु र समाधानमा उदासिन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिस्ट तन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले शुरूवातमा डा. केसीप्रति दुव्र्यवहारपूर्ण ब्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासिन ब्यवहार देखाउनुले लोकतान्त्रिक प्रणाली भित्र कम्युनिष्ट तन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ ।’
वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा. केसीसँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेलानै रोपेको कांग्रेसको आरोप छ ।
फेरि पनि संवाद मार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
डा. केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, माग पूरा गर्न र उनको जीवन रक्षा गर्न ढिलाई नगर्न आग्रह गर्दै देउवाले ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी दिएको छ ।