ललितपुर – कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या दैनिक उच्च हुँदै गएपछि ललितपुरका ६ वटा स्थानीय तहको संयुक्त लगानीमा न्युनतम दुई सय बेडको आइसोलेसन वार्ड निर्माण गरिने भएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित जिल्लाका स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
प्रजिअ भट्टका अनुसार आइसोलेशन वार्डका लागि स्थान छनोट गर्न बाँकी छ । बैठकले जिल्ला प्रशासन कार्यालयमा इमजेन्सी रेक्सपोन्स सेन्टर (ईआरसी) स्थापना गर्ने निर्णय पनि गरेको छ ।
बैठकले कोभिड–१९ महामारी फैलिन नदिन संयुक्त रुपमा भइरहेको दैनिक अनुगनलाई अझ कडाइका साथ लागु गर्ने निर्णय पनि गरेको छ ।