पूर्वराजाको होइन ज्योतिषीहरूले मेरो कुण्डली हेरे हुन्छ – प्रधानमन्त्री ओली

107
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरे।

राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरेका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको उल्ल्लेख गर्दै उनले भने,’पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु ।’

‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धूलो पिठो बनाइन्छ । तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु,’अध्यक्ष ओलीले भने,’एमालेमाथि आन्तरिक र बाह्य पक्षहरु तथा विरोधीहरुको केन्द्रीकृत र चौतर्फी आक्रमण गरेका छन् । एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौं, त्यस ठाउँमा आउन दिने थिएनन् ।’

अध्यक्ष ओलीले एमालेका योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै एमालेको नेतृत्वमाथि केन्द्रीकृत गरेर अनुचित झुठा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिजाउन खोज्ने प्रयासहरुलाई तोड्न सबै देशभक्त र एमालेहरु एकजुट हुनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका  लागि एमाले र काँग्रेसको सरकार बनेको बताउँदै सरकार ढल्यो भनेर कराइरहेकाहरूलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरू सरकारमा रहेर निर्वाचन गराउने स्पष्ट गरे।

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना  प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरु महेश बस्नेत, राजीब पहारी, निरुदेवी पाल, किरण पौडेललगायत उपस्थित थिए।

समाचार वर्गहरू