काठमाडौँ — केही दिनयता अभिनेत्री सुरक्षा पन्तबारे सामाजिक सञ्जालमा अनेक टीकाटिप्पणी भइरहेका छन् । यस्तो टिप्पणीमा फरक मतभन्दा पनि घृणा, आवेग र उत्तेजनात्मक अभिव्यक्ति देखिन्छ । आफूमाथि भइरहेको यस्तो टिप्पणीबारे जानकार भएरै सुरक्षाले फेसबुकमा प्रतीकात्मक कविता लेखेर विरोध जनाइन् । कुरा यतिमै रोकिएन, सुरक्षामाथि भइरहेको आक्रमणबारे टिप्पणी गरेकै आधारमा अभिनेत्री ऋचा शर्मामाथि पनि आक्रमण र घृणा बर्साउन सुरु भएको छ ।
सुरक्षा अभिनित फिल्म ‘खेल’ अहिले प्रदर्शनमा छ । कतिपयले उनको अभिव्यक्तिलाई लिएर फिल्म बहिष्कारको अभियानसमेत चलाइरहेका छन् । ६ दिनअघि कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा अन्तर्वार्ताकारले जोडेको प्रसंगमा पूर्वयुवराज पारस शाह र उनका छोरा हृदयेन्द्रबारे केही बताएकै आधारमा उनीमाथि घृणा बर्साउन सुरु भएको थियो । जुन निरन्तर छ ।
एउटा फिल्मकर्मीमाथि नियोजित र व्यक्तिगत आक्रमण भइरहँदा पनि अधिकांश फिल्मकर्मीले भने यसलाई नजरअन्दाज गरिरहेका छन् । कतिसम्म भने कलाकारकै हकहितका निम्ति भन्दै खुलेका चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघ र चलचित्र निर्देशक संघहरू यो सारा परिदृश्यमाथि बेखबरझैं देखिन्छन् ।
केही अभिनेत्रीले भने सुरक्षामाथि साइबर संसारमा भइरहेको आक्रमणबारे प्रस्ट शब्दमा बोल्ने हिम्मत गरेका छन् । अभिनेत्री ऋचाले यसबारे खुलेरै आवाज उठाइन् । उनले सामाजिक सञ्जालमा सुरक्षालाई ढाडस दिँदै लेखिन्, ‘आजभोलि केही मानिसलाई लागिरहेको छ कि तिमीले जे भन्यौ, त्यो सधैं उनीहरूको पक्षमा हुनुपर्छ । तिमीले आफ्नो विचार राख्नु, प्रश्न उठाउनु, असहमति जनाउनु एकदम ठिक कुरा हो । तिमी आफ्नो आवाज हो, अरूको प्रतिध्वनि होइनौ…।’
ऋचाले यति बोलेपछि आक्रमण उनीमाथि पनि सुरु भयो । उनको भनाइमा असहमति राख्ने त सामान्य कुरा भयो, तर घृणाजन्य अभिव्यक्ति दिने काम सुरु भयो । उनलाई केहीले त च्याटमार्फत अश्लील गाली दिँदै घृणाजन्य धम्की दिएका छन् । च्याटमामार्फत अश्लील गाली गर्नेको एकजनाको त ऋचाले च्याटको स्क्रिनसट नै सार्वजनिक गरिदिइन् । जहाँ सार्वजनिक रुपमा पढ्नसमेत नसिकने शब्दहरु लेखिएका छन् ।
ऋचा यतिबेला आक्रमण गर्ने प्रत्येक व्यक्तिविरुद्ध मुद्दा दर्ता गर्ने तयारीमा छिन् । ‘म अहिले थ्रेट दिनेहरूको विवरण खोजिरहेको छु । त्यसमध्ये बाबुराम धिताल र सम्राट ठकुरीका विवरण आइसकेका छन् । अब एउटा उदाहरण सेट गर्न एकदमै जरुरी भइसक्यो । सामाजिक सञ्जालमा तथानाम गाली सुन्न हामीलाई जरुरी छैन,’ उनले भनिन् ।
पटकथाकार सम्पदा मल्लले पनि सुरक्षाको अभिव्यक्तिमाथि समर्थन जनाउँदै उनीप्रति सम्मान बढेको उल्लेख गरिन् । सामाजिक सञ्जालमा लेख्दै भनिन्, ‘म तपाईंमाथि गर्व गर्छु । किनभने तपाईं आफ्नो विचार व्यक्त गर्न डराउनुभएन । तपाईंले प्रमाणित गर्नुभयो कि एक अभिनेत्री केवल मनोरन्जनको साधन होइन । उनको समाजमा महत्त्वपूर्ण भूमिका छ र त्यही कारण गर्दा समाजले उनीहरूलाई आफ्नो समाजका लागि उभिन सेलिब्रिटीको दर्जा दिएको छ ।’
रंगकर्मी आकांक्षा कार्कीले पनि सुरक्षामाथि व्यक्तिगत रुपमा भइरहेको घृणाविरुद्ध आवाज उठाइरहेकी छन् । उनले लेखेकी छन्, ‘हामी सोच्छौं कि हामी समाजको रूपमा प्रगति गरिरहेका छौं तर हरेक दिन हामी पछाडि सरिरहेका छौं । हामीलाई विचार भएकी महिला अझै पनि खतरा हुन्, र यसले मानिसहरूलाई असहज बनाउँदा लाग्छ ।’
पन्छिन्छन् फिल्मकर्मीका संघ
फिल्मकर्मीहरूको हकअधिकारका लागि भनेर खोलिएका संघसंस्था भने यतिबेला मौन देखिन्छन् । उनीहरूले यस विषयमा आधिकारिक रुपमा विज्ञप्ति निकाल्नु त परै जाओस्, व्यक्तिगत रुपमा पनि विकास भइरहेका घटनाबारे अनदेखा गरिरहेझैं देखिन्छ ।
चलचित्र निर्माता संघका महासचिव सुनिलकुमार थापाले कान्तिपुरसँगको कुराकानीमा भने, ‘संघसंस्थाबाट यसबारे लेख्न सकिन्न । संघसंस्थामा गणतन्त्रवादी र राजावादी पनि आबद्ध छन् । प्रधानमन्त्री जस्तोले यो कुरा रोक्न सकेनन् भने कलाकारका संघसंस्थाले कहाँ सक्छन् ?’
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बोर्डले यसबारे केही बोल्न नमिल्ने सुनाए । उनले यतिमात्रै भने, ‘बोर्ड एनजीओ होइन । सरकारी संस्था हो । हामीले बोल्नै मिल्दैन ।’
पटक-पटक सिकार
सुरक्षा मात्र होइन, यसरी अभिव्यक्ति र ट्रोलको सिकार बन्ने कलाकार थुप्रै छन् । प्रस्तोता प्रकाश सुवेदीकै कार्यक्रममा अभिनेत्री पूजा शर्माले नेताहरू नचिन्दा र सामान्य ज्ञानको जवाफ दिन नसक्दा उनी पनि ट्रोलको सिकार भएकी थिइन् । लामो समयसम्म उनीमाथि मानसिक हिंसा नै भएको थियो ।
सोही कार्यक्रमको एक एपिसोडमा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले राजेश हमाल ‘महानायक’ होइन भनेर आफ्नो आलोचकीय दृष्टिकोण राख्दा उनीमाथि पनि उस्तै गरी सामाजिक सञ्जालमार्फत गाली बर्साइएको थियो । कतिसम्म भने उनी आबद्ध नियमित टेलिभिजन कार्यक्रमबाट समेत बाहिरिनुपर्यो । उनका फिल्म बहिष्कार गर्ने धम्की दिइयो । मानसिक रुपमा दीपाश्रीलाई ठूलै आघात पर्यो । उनले रुँदै सामाजिक सञ्जालमा माफी माग्दा पनि घृणा फैलाउने क्रम बन्द भएन । यही घटनापछि दीपाश्री कतै भिडियो अन्तर्वार्ता दिने र बोल्ने कुरामा निकै हच्किन्छिन् ।
गत फागुनमा गायक तथा अभिनेता प्रकाश सपुतले ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकर्पणमा प्रधानमन्त्री ओलीको जीवन प्रेरणादायी भएको भन्दै प्रशंसा गरेका थिए । ओलीमाथि प्रशंसा गरेकै कारण उनले सामाजिक सञ्जालमा गालीगलौजको सामना गर्नुपर्यो । तुच्छ शब्दमार्फत उनलाई जातीय विभेद पनि गरियो । रिलिज नजिकै रहेको उनको फिल्म ‘वसन्त’ बहिष्कारको अभियानसमेत चल्यो ।
ऋचाले यस्तो बेला सम्बन्धित संघसंस्थाले आवाज नउठाउँदा कलाकार एक्लो हुने गरेको गरेको बताइन् । ‘हिरोहरू त झन् बोल्नै सक्नुहुन्न । मेरो अपेक्षा हिरोहरूले नभने पनि हिरोइनहरू एकजुट हुनुपर्ने हो । तर कसैको पनि सपोर्ट छैन ।’
साइबर कानुनका जानकार बाबुराम अर्यालका अनुसार कानुनमा सुरक्षा पन्तमाथि भइरहेको आक्रमणलाई दुर्व्यवहारका हिसाबले हेर्न सकिन्छ । ‘यो विषय विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार महिलामाथिको दुर्व्यवहार कानुनअन्तर्गत जान सक्छ । यसमा पाँच वर्षसम्मको जेल सजाय, एक लाखसम्मको जरिवाना र क्षतिपूर्ति हुन सक्छ,’ उनी भन्छन् । अहिले समाजको स्वभाव रुढ हुँदै गएको र त्यसको रिफ्लेक्सन भर्चुअलमा भएको पनि उनी बताउँछन् । भन्छन्, ‘यस्तो हुनुमा प्रयोगकर्ताको डिजिटल लिट्रेसी नभएकाले उनीहरूको परिणाम अनुमान पनि गर्न नसक्ने र परिणामलाई वास्ता पनि नगरेको कारण यो किसिमका घटना भइरहेका छन् । हामी क्राइम र नन क्राइमका कुरामा प्रस्ट छैनौं । कानुनको विद्यमानताका बारेमा पनि धेरै मान्छेलाई थाहा छैन ।’ कान्तिपुर बाट