काठमाडौं – गणतन्त्र दिवसमा राष्ट्रपतिबाट सजाय माफी पाउनेमा व्यक्ति हत्या अभियोगमा दोषी ठहर भएका मात्रै १२ जना समेटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनका छिद्रलाई टेकेर मन्त्रिपरिषद्को सिफारिसमा गम्भीर अपराधका दोषीलाई उन्मुक्ति दिएका छन् ।
दण्डहीनताले प्रश्रय पाउने गरी भएको यो निर्णयमा सत्तारूढ दल, मन्त्रिपरिषद् र राष्ट्रपति नै जोडिएका छन् ।
राष्ट्रपति पौडेलले सोमबार गणतन्त्र दिवसका दिन १९ जनालाई सजाय माफी दिएकामा १२ जना व्यक्ति हत्याका दोषी छन् । विभिन्न कारागारमा सजाय भुक्तान गरिरहेका ४ सय ८२ जनाको भुक्तान हुन बाँकी सजाय मिनाहा गरिएको हो ।
सजाय माफी दिएकामा व्यक्ति हत्याका १२, हातहतियार तथा खरखजाना र बहुविवाहका १/१, डकैती/डाँका/चोरीका २, कुटपिट तथा अंगभंगका २ तथा गाडीले किचेर ज्यान मार्ने १ जना छन् । यसरी सजाय माफी गर्दा राष्ट्रपति र प्रधानमन्त्री (मन्त्रिपरिषद्) ले अदालतमा विचाराधीन मुद्दाको पूर्णपाठलाई नै प्रभावित पार्न खोजेको कानुनका जानकार बताउँछन् ।