(काठमाडौं) – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।
नेपालमा दुई हजारभन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले मन्त्रालयमा बुधबार बसेको बैठकले संक्रामक रोग ऐन २०२० अन्तर्गत् हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने भनिएको छ।
“संक्रामक रोग ऐन २०२० को दफा २ मा नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने” व्यवस्था छ।
बुधबार सोही विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका तथा स्वतन्त्र विज्ञलाई समेत छलफलमा बोलाएका छन।
मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको प्रमुख डा. गुणराज लोहनीका अनुुसार संक्रमणको रफ्तार बढ्दैजाँदा अस्पतालको क्षमता, लजिस्टिक र जनशक्ति नपुग्ने भएकाले मन्त्रालय संकटकाल लगाउने निर्णयमा पुगेको हो । ‘संक्रमणको रफ्तार बढ्दै गएपछि पहिलेभन्दा बढी सचेत हुनुपर्छ, सोही कारण यो निर्णय गरिएको हो’ उनले भने।
गत मे महिनामा मन्त्रालयले बनाएको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अनुसार दुई हजारभन्दा बढी कोरोना संक्रमित पुगे घरमै आइसोलेसनमा राख्ने ब्यबस्था छ ।
यस्तै, दुई हजारदेखि पाँच हजारसम्म संक्रमित पुगेमा दोस्रो चरणको उपचार रणनीति लागु हुनेछ । यस्तै, पाँच हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा मन्त्रालयको तेस्रो चरणको उपचार रणनीति लागु हुनेछ ।
१० हजारभन्दा बढी मानिसमा संक्रमण भएको अवस्थामा मन्त्रालयले सबै अस्पतालमा कोभिड-१९ को बिरामी राख्ने योजना बनाएको छ । त्यसबेला १५ सयभन्दा बढीलाई अक्सिजन चाहिन सक्छ भने पाँच सयभन्दा बढीलाई आईसीयू चाहिन सक्छ । यो चौथो चरणको रणनीति हो।
‘अक्सिजन सपोर्ट, आईसीयू नचाहिने र लक्षण नभएकाहरूलाई घरमै आइसोलेट गर्ने पहिलेदेखिकै तयारी थियो’ डा. लोहनीले भने, ‘त्यसो नगरिकन सबैलाई अस्पतालमा राख्दा हाम्रो पूर्वाधारले धान्दैन, अहिले त्यही अवस्था आउन लागेकाले हेल्थ इमर्जेन्सीको तयारी गरिएको हो ।’
स्वास्थ्य संकटकाल घोषणा गर्नका लागि स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका र कम देखिएका कोभिड-१९ का संक्रमित घरमै आइसोलेसनमा बस्न सक्नेगरी मापदण्ड बनाइएको छ।
उक्त मापदण्डअनुसार अब कसैको कोरोना परीक्षण नतिजा पोजेटिभ आएमा लक्षण नभएका ( एसिम्योयाटिक) हल्का (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) र नाजुक (क्रिटिकल) के हो भनेर यकिन गर्नुपर्छ । र ती बिरामीको स्वास्थकर्मीको सिफारिस अनुसार उपचारको ब्यबस्था गरिने छ ।