नेपाली कांग्रेस फुट्याे : घोषणा हुन बाँकी, अनामनगरमा देउवा समुहको कार्यालय स्थापना

44

काठमाडौं । नेपाली कांग्रेस पुनः फुटेको छ । औपचारिक रुपमा घोषणा नगरिएको भएपनि शेरबहादुर देउवा समुहले अनामनगरमा कार्यालयनै स्थापना गरेर आफ्नो गतिविधिलाई अगाडी बढाएको छ । काठमाडौंको अनामनगरमा पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सम्पर्क कार्यालय खोलेको भन्दै बचाउ समेत गरेको छ ।

सो कार्यालय नेताहरू गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायतको सक्रियतामा खुलेको बताइएको छ । बराल, बस्नेत र काफ्ले निवर्तमान केन्द्रीय सदस्य हुन् । त्यस्तै शेरचन बागलुङका सभापति तथा गण्डकी प्रदेश सरकारको अर्थमन्त्री हुन् ।

कार्की कोशी प्रदेश सरकारको पूर्वमुख्यमन्त्री हुन् । उक्त समूहका नेता तथा नेपाल लोकतन्त्रवादी आदीवासी जनजाति महासंघका महामन्त्री मनहरि श्रेष्ठले पार्टीको १५ औं महाधिवेशनलाई एकता महाधिवेशन बनाउने तयारीका लागि सम्पर्क कार्यालय स्थापना गरिएको भन्दै बचाउमा लागेका छन् ।

उनले वैशाखदेखि नै सम्पर्क कार्यालय स्थापना गरी कामकारबाही अघि बढाइएको बताएका छन् । नेता गुरु बराल पार्टी एकताको लागि दबाब सिर्जना गर्न र महाधिवेशनको तयारी गर्न कार्यालय स्थापना गरिएको बताउँछन् । अनामनगरस्थित कार्यालयमा विद्या तिमल्सिना, उषा राउत मिश्र, मनहरि श्रेष्ठ, मनिषजंग थापा, दुर्गाबहादुर खड्कालगायत नेताहरु प्रायः बस्ने गरेको बताइएको छ ।

सो कार्यालया चारतारे झण्डासँगै बीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र खुमबहादुर खड्काको तस्वीर झुण्ड्याइएको छ ।

समाचार वर्गहरू