भाजपाले डाकेपछि रास्वपाका सभापति रबी लामिछाने भारत भ्रमणमा

66

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) भारत भ्रमणमा जाँदै छन्। भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनले भ्रमणकालागि निमन्त्रण गरेपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रास्वपा सभापति लामिछाने आज भारत जाने भएका हुन्।

भारत भ्रमणमा रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्यसमेत जाने भएका छन् । रास्वपाले आइतबार राति जारी गरेको विज्ञप्तिअनुसार रविले आज जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्ने उल्लेख गरेको छ ।

सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने बताएपनि उनीहरुसंग कति समयमा भेट गर्ने भन्ने चाही खुलाइएको छैन । साथै रविले भाजपाका शीर्ष नेतासँग छलफल गर्ने समेत बताइएको छ ।

भने भारतमा बसोबास गरिरहेका नेपाली र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गरेर उनी नेपाल फर्किने कार्य तालिका रहेको रास्वपाले जनाएको छ । यसबिच रवि व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम रहेको बताइएको छ ।

रास्वपा सभापति आज दिउँसो १ बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन्द्र साहले आइतबार संसद्‌मा नेपाल–भारत सीमा विवादबारे विवादित अभिव्यक्ति दिएको भोलिपल्टै आज सोमबार सत्तारूढ दलका प्रमुख रवि भारत भ्रमणमा जान लागेका हुन्।

समाचार वर्गहरू