काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सीमा समस्याबारे दिएको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत, भ्रामक र गैरजिम्मेवार भन्दै कडा आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीले संसदमा गरेको ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ’ भन्ने अभिव्यक्तिले नेपालको स्थापित राष्ट्रिय अडान, सार्वभौमिकता र राष्ट्रिय भावनामाथि गम्भीर आघात र्पुयाएको उल्लेख गरिएको छ ।
कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपाली भूमिमाथिको अतिक्रमणको विषयलाई सामान्य सीमा विवादसँग तुलना गर्दै गरिएको टिप्पणीलाई ‘बदनियतपूर्ण स्वीकारोक्ति’ को संज्ञा दिएको छ । यस्तो अभिव्यक्तिले नेपाल–भारतबीच कूटनीतिक माध्यमबाट समाधान खोज्ने सहमतिमा असर पार्नुका साथै नेपालको दाबीसमेत कमजोर बनाउने दाबी कांग्रेसको छ ।
प्रधानमन्त्रीले सीमा समस्याबारे ‘बेलायतसँग पनि कुरा भइरहेको’ भन्ने आशयको अभिव्यक्ति दिएको विषयमा पनि कांग्रेसले प्रश्न उठाएको छ। दुईपक्षीय रूपमा समाधान गरिने सीमा समस्यामा स्थापित कूटनीतिक संयन्त्रलाई बेवास्ता गर्दै प्रधानमन्त्रीले कुन आधारमा यस्तो भनाइ राख्नुभएको हो भन्ने प्रश्न कांग्रेसले गरेको छ ।
‘देशको कार्यकारी प्रमुखले संसद्मा बोलेको प्रत्येक शब्द राज्यको आधिकारिक धारणा मानिन्छ,’ कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘त्यसैले प्रधानमन्त्रीको भनाइ सरकारको आधिकारिक दृष्टिकोण हो, राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा हो वा प्रधानमन्त्रीको व्यक्तिगत विचार हो भन्ने विषयमा तत्काल स्पष्ट पारिनुपर्छ ।’
कांग्रेसले प्रधानमन्त्री र सरकारसँग संसद् तथा आम जनतासमक्ष अविलम्ब स्पष्टीकरण दिन माग गर्दै सीमा समस्या ऐतिहासिक तथ्य, सन्धि र प्रमाणका आधारमा वार्ता तथा कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्ने आफ्नो अडान पुनः दोर्होयाएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘कूटनीतिक मर्यादाविपरीत’ र ‘राष्ट्रिय हितविरोधी’ भन्दै कांग्रेसले त्यसप्रति खेद व्यक्त गर्दै घोर भर्त्सना गरेको छ ।
प्रधानमन्त्रीले संसद्मा बोल्दै नेपाल-भारत सीमा विवाद एकतर्फी मात्र नभएको बताउँदै केही स्थानमा नेपालले पनि भारततर्फको भूमि प्रयोग गरेको तथ्य आफू प्रधानमन्त्री बनेपछि मात्रै स्पष्ट भएको उल्लेख गरेका थिए। प्रधानमन्त्री बालेनले भनेका थिए, ‘भारतले नेपालको जग्गा मात्रै मिचेको छैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ, यो कुरा म प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ।’