सार्वभौम संसदका माननीय सदस्य ज्यु हरु !
संघीय संसद भवन सिंहदरबार भित्रको हलमा तपाईं दायाँ, बायाँ, पुर्व, पश्चिम, उत्तर, दक्षिण, अग्लो, होचो, पक्ष, प्रतिपक्ष जुनसुकै आसनमा बस्नुस । सँगै संसदीय दलको नेता, उप नेता, प्रमुख सचेतक, सचेतक, बिषयगत समितिको सभापति, मन्त्री, सभामुख, उप सभामुख वा प्रधानमन्त्री नै किन नहोस् जेसुकै भुमिकामा हुनुहोस् त्यो ऐन, कानुन, नियमावली, संविधान, संसद संख्याका आधारमा तपाईं स्वयंले बाँडफाँड गरेको पद हो ।
यी उल्लेखित वा अझै अरु पनि कुनै भुमिका प्राप्त गर्नुभन्दा पहिले तपाईं कहाँबाट कसरी कसको प्रतिनिधित्व गर्दै त्यहाँ पुग्नुभो त्यो धरातललाई एकपटक आँखा बन्द गरेर लामो सास तानेर सोच्नुहोस त । त्यो भवनमा लाएर जानेगरेको लोगो विगतमा तपाईंको थियो ? अनि भबिष्यमा तपाईंकै हुन्छ भन्ने ग्यारेन्टी छ ?
यसपटकको निर्वाचनमा तपाईं संघीय सांसद छानिनु तपाईं मात्रै योग्य भएर हो ? यदि त्यसो हो भने तपाईं भन्दाबाहेक सबै अयोग्य हुन् ? अनि तपाईं केवल तपाईं मात्रै हो वा हुनखोज्ने हो भने तपाईका मतदाताको आवाज बोलिदिने को ? समस्यासँग सहकार्य गर्ने को ? दुख पिडामा सँगै हुने को ? अर्थात आफुले संघिय सांसदको लोगो लगाएपछी ती मतदाता नागरिक तिर फर्किनु पर्दैन ?
होला संसदमा कुनै दलको सांसद संख्या बढी होला, कुनैको कम्ती होला, कोही सरकारमा होलान्, कोही प्रतिपक्षी होलान्, यो त नियमित प्रक्रिया र संसदीय अभ्यास हो । अथवा यो त समय अनुसारको प्राविधिक बिषय हो । अनि प्राविधिक बिषयमा अल्झेर बस्दा आफ्नो मुख्य जिम्मेवारी ओझेल परेको हेक्का छ ?
विगतमा दस बर्ष जंगलमा युद्ध गरेर आएको तत्कालीन माओवादी पार्टी सत्ताको खेलमा रुमलिँदा आकारमा ठुलो दल हुँदापनी २०६४ मा बन्नुपर्ने संविधान सत्ताको छायाँले ओझेल परेको होइन ? त्यसकै निरन्तरतामा २०७० सालमा गरिएको दोस्रो संबिधानसभा चुनाव मार्फत केहि असहमति बिरोध र फरक मतकाबिच झण्डै एक दशकपछी जारी गरिएको संबिधानकै जगमा होइन अहिलेको अवस्था ?
दुई दुई पटक संविधान सभाको चुनाव गरेर अनेकौं खिचातानी र तिकडमबाजीकाबिच बढो मुस्किलले नेपाली जनताले प्राप्त गरेको संविधान र त्यसको मुल मर्म बुझ्नु पर्दैन ? यही मर्म र नागरिकको भावना विपरीतको बाटो समातेको हुनाले संसद र सरकार आफ्नै पैत्रिक सम्पत्ति सोचेर घुमी घुमी संख्याको राजनीति मार्फत सत्ताको चरम दुरुपयोग गर्ने कांग्रेस एमाले र तत्कालीन माओवादी, लगायत मधेसवादी दलको अहिले गणितीय अवस्था के छ ?
अनि के नेपाली नागरिकले कांग्रेस, एमाले, माओवादी, मधेसवादी दल र तिनका पुराना नेता अघाए अब तिमिहरुको पालो भनेर अहिलेको संसदमा प्रतिनिधित्व गर्ने नयाँ दल वा ब्यक्तिलाई यो जिम्मेवारी सुम्पेका हुन् ?के संविधान कानुन निति नियम नियमावली कागजी दस्तावेज मात्रै हुन् ?
अनि धेरै संख्याको बलमा त्यसको अवहेलना वा बेवास्ता गर्ने अख्तियारी कसले दियो तपाईं माननीय सदस्य ज्यु हरुलाई ?
हेक्का होस यो वा त्यो बहानामा समर्थन बिरोध वा प्रतिशोधको भावनामा बगेर सत्तापक्ष वा प्रतिपक्षको नाउँमा नेपाली नागरिकको मताधिकारलाई दुरुपयोग गर्दै तपाईंहरुका घरको चुल्हो बाल्ने र स्वार्थको रोटी सेक्ने छुट कसैलाई छैन ।